मेरो सपनाको नेपाल

विश्वका सफल व्यक्तिहरु भन्छन सपना देख, असफल व्यक्तिहरु भन्छन धेरै सपना नदेख…| सपना देख्नुपर्छ, उदेश्य राख्नुपर्छ तर तेसै अनुरुप कार्यसम्पादन पनि| महाकवि लक्ष्मीप्रसाद देवकोटाले तेसै भनेका होइनन् ‘उदेश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर| दशकौ देखि हामि नेपालीले किन विकाश गर्न सकेनौं? हामी संगैका मुलुकहरु आज कहाँ पुगी सके, हामी किन उधो गतिमा छौ?

सामान्यतया गाँस, बाँस, कपास अनि शिक्षा, स्वास्थ्य र रोजगार मान्छेका आधारभूत आवश्यकताहरु हुन्| जब मान्छे यी सबै कुरा प्राप्त गर्दछ तब मात्र उसले संस्कारका कुरा, स्वाभिमानका कुरा, रास्ट्रियताका कुरा गर्दछ| आज भन्दा दुई-सय बर्ष अगाडी नै विश्वमा एक छत्र राज जमाएर बसेको ब्रिटिश साम्राज्यसंग हाम्रा पुर्खा लडेका हुन् रास्ट्र र राष्ट्रियताका खातिर| त्यतिबेला नेपाल खाद्यान्नमा आत्म निर्भर थियो| नेपालको चामल कोरियासम्म पुग्थ्यो| आज हामी चामल आयात गर्दै छौ, दुर्गममा रोग भोक र अशिक्षा व्याप्त छन्, मुलुक अन्य मुलुकहरुको दाजोमा धेरै पछाडी परि सकेको अवस्था छ| तर पनि नेपालीहरु रास्ट्रियताको कुरा छोड्दैनन्| यो खोक्रो आडम्बर भन्दा पनि हाम्रो  विशेषता हो |

२००७ साल यता मुलुकमा थुप्रै राजनैतिक परिवर्तनहरु भए, थुप्रै शासन-प्रणालीहरु फेरिए, जनताले अनगिन्ति सपनाहरु देखे तर अधिकांस सपनाहरु तेसै टुटेर गए, अहिले सम्म पुरा भएका छैनन् | अझै पनि सपना देख्न भने छोडेका छैनन् | छोड्नु पनि हुदैन| कुनै न कुनै दिन ति सपनाहरु कुनै न कुनै मध्यमबाट प्राप्त हुने नै छन् | म पनि एक निम्न मध्यम वर्गीय परिवारमा जन्मेको नेपाली हु, मेरा पनि सपनाहरु छन् |

सबै नेपालीले खान पाएको, लाउन पाएको| शिक्षा, स्वास्थ्य र रोजगारी पाएको| शान्ति सुरक्षा र अमन चैन पाएको सपना |

आलंकारिक राजतन्त्र, प्रत्यछ निर्वाचित प्रधानमन्त्री, र ‘छ’ ओटा प्रदेश भएको नेपाल देखेको छु| सबै धर्म, जाती, र भाषा-संस्कृतिको उच्च सम्मान, संरक्षण, र प्रवर्धन भएको सपना देखेको छु|

दुई ठुला अर्थतन्त्र चिन र भारत बीच रहेको मेरो सुन्दर राष्ट्र शान्त र समृद्ध भएको सपना देखेको छु | ति देसका धनि ब्यापारी, कलाकार र राजनीतिज्ञहरुले नेपाली बैंकहरुमा पैसा जम्मा गरेको सपना देखेको छु|

देशको प्रमुख उधोग, पर्यटन रहेको, विश्वभरिका शाहसी पर्यटक, धार्मिक पर्यटक, सामाजिक-सांस्कृतिक र पर्या-पर्यटकहरुको ओइरो लागेको सपना देखेको छु | किशानहरुले प्रांगारिक खेति गरी, पर्यटकहरुलाई स्थानीय खाना खुवाई, होमस्टेमा सुताएर कृषि-पर्यटन गरेको सपना देखेको छु|

गुणस्तरीय शिक्षा दिने भौतिक सुबिधा सम्पन्न नेपालका युनिभर्सिटीहरुमा पढ्न अन्य मुलुकका विध्यार्थीहरुले तछाड-मछाड गरेको सपना देखेको छु | एसियाकै शैशिक गन्तव्य (education hub) नेपालमा, पढ्न नपाएर रोएको देखेको छु| जैविक-विभिधता सम्बन्धि अन्तरास्ट्रिय अध्ययन केन्द्र, जुम्लामा पढ्न युरोप अमेरिकाका बिद्यार्थीहरु आएको देख्या छु |

मैले पूर्व-पश्चीम विधुतीय रेल चडी ह्विकने सपना देखेको छु | बिहानै इलामको चिया खाएर दिउसो को खाना महेन्द्रनगर पुगी खाने सपना छ| चिनबाट आएको रेलले मार्फाका स्याउ बोकेर काठमाण्डौ ल्याई भारत सम्म लागेको को देख्या छु | केबलकार कार चडी खप्तड घुम्न गएको, दार्चुलाका चौरीको दुध र छुर्पी खादै, च्यांग्राको पस्मिनाको गलबन्दी लगाई धनि भोटेहरुसंग गफ हानेको सपना देखेको छु| जलमार्गको पानी-जहाज चडी लुम्बिनी घुमेको सपना देखको छु |

यस्तै अनेक सपनाहरु देख्या छु जहाँ नेपालीहरुको तन स्वस्थ, मन सफा छ, नेपाल सुन्दर, शान्त र समृद्ध छ| सपनाहरु बाढ्नु होइन भन्छन, तेस्मा पनि पनि पटक पटक सपना देखेर टुटेका नेपालीहरुले त अब सपना देख्न पनि छोडी सके| सपनाको मात्रै खेति गर्नु राम्रो पनि होइन  तर पनि ति सबै देख्छु, ति सपना हरु छिटै पुरा हुन्छन नै जस्तो पनि लाग्छ| तर थाहा छैन कैले| 🙂

Leave a comment